२०७२ पछिकै सबभन्दा ठूलो भुइँचालो

सपनामा ऐँठन परेको थियो भने आज निद्राबाट ब्युँझन सजिलो भयो होला।

भालेको डाँकसँगै तपाईंलाई ब्युँझाउन भुइँचालोको ठूलो धक्का जो आएको थियो!

मीठो सपना देखेर निद्रामै मुसुमुसु हाँस्दै हुनुहुन्थ्यो भने चाहिँ तपाईंको त्यो अलौकिक आनन्द भुइँचालोले भंग पारेको हुनुपर्छ।

बुधबार बिहानै ५ बजेर १९ मिनेट जाँदा गएको भुइँचालो धेरैलाई निद्राबाट ब्युँझाउने ताकतको थियो। कति त घरबाट निस्कनधरि भ्याए। भलै उनीहरू बाहिर निस्कँदासम्म कम्पन थामिइसकेको थियो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ६ म्याग्निच्यूडको यो भुइँचालोको केन्द्रविन्दु सिन्धुपाल्चोकको राम्चे हो। यसलाई २०७२ को गोरखा भुइँचालोकै निरन्तरता भनिएको छ।

जनधन क्षतिका हिसाबले सानो देखिए पनि ६ म्याग्निच्यूड भनेको चानचुने होइन। यो २०७२ वैशाख २९ पछिकै ठूलो धक्का हो।

तपाईंहरूलाई याद हुनुपर्छ, त्यो वर्ष वैशाख १२ गते गोरखालाई केन्द्र बनाएर ७.६ म्याग्निच्यूडको भुइँचालो गएपछि वैशाख २९ गते एकै दिन ६.८ र ६.२ का दुई ठूला परकम्पन आएका थिए। दुवैको केन्द्र दोलखा थियो। यसले दोलखा र सिन्धुपाल्चोकमा धेरै क्षति भए।

त्यसयता पाँच वर्षमा सिन्धुपाल्चोक र दोलखालाई नै केन्द्र बनाएर ५ म्याग्निच्यूडभन्दा ठूला कम्पन धेरै आएका छन्। तर, ६ म्याग्निच्यूडको अहिलेसम्म थिएन।

‘यति ठूलो भुइँचालो नगएको धेरै भएको थियो,’ केन्द्रका भूगर्भविद् लोकविजय अधिकारीले सेतोपाटीसँग भने, ‘धन्न जनधनको क्षति भएन।’

यस्तो कम्पन सिन्धुपाल्चोकका लागि जोखिमपूर्ण हुन सक्छ। मनसुन सुरू भएदेखि त्यहाँ लगातार पहिरो गइरहेका छन्। भुइँचालोको धक्काले पहिरो झनै बढ्छ।

विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेलले बुधबार बिहानैदेखि सिन्धुपाल्चोकको प्रहरी–प्रशासन र स्थानीय सरकार प्रमुखहरूसँग सोधपुछ गरेका थिए। अहिलेसम्म कतैबाट क्षतिको रिपोर्ट नआएको उनी बताउँछन्।

‘म त्यहाँको प्रहरी–प्रशासन र जनप्रतिनिधिसँग सम्पर्कमा छु,’ उनले भने, ‘आजको भुइँचालोले नयाँ पहिरो गएको वा घर भत्केको रिपोर्ट छैन।’

भूगर्भविद्हरूका अनुसार २०७२ को भुइँचालो गोरखाबाट सुरू भएर दोलखासम्म पुगेको थियो। त्यसयता यो भूभाग अहिलेसम्म स्थिर छैन। बुधबारको जत्रो ठूलो धक्का नआए पनि पाँच म्याग्निच्यूडभन्दा साना कम्पन लगातार आइरहेकै छन्।

त्यसमा पनि काठमाडौं, सिन्धुपाल्चोक र दोलखाको भू–भाग भुइँचालोका हिसाबले सबभन्दा सक्रिय देखिन्छ। यसका लागि हामी भूकम्प मापन केन्द्रको एक वर्षको तथ्यांक हेरौं।

एक वर्षयता सिन्धुपाल्चोकलाई केन्द्र बनाएर तीनवटा भुइँचालो गएका छन् भने दोलखालाई केन्द्र बनाएर चारवटा। ती सबै ४ देखि ५.३ म्याग्निच्यूडका थिए। सिन्धुपाल्चोकलाई नै केन्द्र बनाएर यति ठूलो भुइँचालो नगएको करिब नौ महिना भएको थियो। पछिल्लोचोटि २०७६ मंसिर २६ गते ४.८ को भुइँचालो गएको थियो।

यही अवधिमा काठमाडौं उपत्यकाको भू–भाग झनै सक्रिय देखिन्छ।

उपत्यकाका विभिन्न ठाउँलाई केन्द्र बनाएर आठचोटि भुइँचालो गएको रेकर्ड छ। तीमध्ये २०७७ वैशाख ११ को धक्का सबभन्दा ठूलो थियो। बिहान ६ बजेर २९ मिनेट जाँदा ५.२ को धक्का महशुस गरियो। लगत्तै ६ बजेर ४० मिनेटमा ४.३ म्याग्निच्यूडले धर्ती हल्लियो। यसबाहेक अन्य कम्पन ४ म्याग्निच्यूडभन्दा कमका छन्।

यसरी गोरखाबाट सुरू भुइँचालो तरंगले काठमाडौंबाट दोलखासम्मको क्षेत्रलाई पाँच वर्षभन्दा बढी खुसुखुसु हल्लाइरहनुको कारण के त?

हामीले यसबारे केन्द्रका भूगर्भविद् अधिकारीसँग लामो कुराकानी गर्‍यौं।

पृथ्वीको भू–सतहभन्दा निकै मुनि ठूल्ठूला चट्टानका थुप्रै खण्ड छन्। तिनै चट्टान आपसमा जुध्दा भुइँचालो, ज्वालामुखी, सुनामीजस्ता भौगर्भिक विपत्ति आउँछन्। हामी नेपालको जुन सतहमा उभिएका छौं, त्योभन्दा तल दुई ठूला चट्टान करोडौं वर्षदेखि आपसमा जुधिरहेका छन्। तिनलाई इन्डियन र युरेसियन प्लेट भनिन्छ।

यिनै दुइटा प्लेट वा चट्टानको घर्षणले हिमाली शृंखला र पहाड–पर्वत बनेका हुन्। त्यही घर्षणको प्रभावले अहिलेसम्म भुइँचालोको धक्का झेल्न हामी बाध्य छौं।

करोडौं वर्षअघि जब इन्डियन र युरेसियन प्लेट आपसमा जुध्न थाले, त्यसले बनाएको दरार पूर्वदेखि पश्चिमसम्म एकनास थिएन। त्यही भएर यो क्षेत्रमा जब-जब नयाँ भुइँचालो जान्छ, त्यसले बनाउने दरार एकनासको हुँदैन। यो तलमाथि वा दायाँबायाँ छरिन्छ र कहिलेकाहीँ कुनै ठाउँमा पुगेर अड्किन्छ।

गोरखा भुइँचालोको दरार पनि पूर्वदेखि पश्चिमसम्म एकनास नभएको अधिकारी बताउँछन्। यो दरार काठमाडौं हुँदै दोलखासम्म पुग्यो, तर त्यहाँबाट अगाडि बढ्न सकेन। यसले भुइँचालोको तरंग काठमाडौंदेखि दोलखाको भू–भागमा बढी केन्द्रित भएको उनको भनाइ छ।

यसलाई सजिलो गरी बुझ्न कपडा उधारेको उदाहरण लिउँ।

तपाईंले कपडाको थान च्यातेको देख्नुभएकै होला। सुरूमा अलिकति च्यातिन्छ, बाटो बनेपछि धर्रर उध्रिँदै जान्छ। यहाँ कपडा उध्रिने शक्तिलाई भुइँचालो तरंग मान्ने हो भने त्यो शक्ति दोलखाभन्दा अगाडि बढेन। अर्थात्, कपडाको थान पूरै च्यात्तिन पाएन।

‘२०७२ को भुइँचालो चुरे फेदसम्मै पुगेर जमिन चिरा परेको भए त्यसको शक्ति उतिबेलै निख्रिसक्ने थियो। तर, यो दोलखा र काठमाडौंको दक्षिणी भू–भागमा आएर अड्कियो,’ उनले भने, ‘जुन ठाउँमा भुइँचालोको शक्ति सञ्चय भएर बस्छ, त्यसले त्यहाँ बारम्बार धक्का दिइरहन्छ।’

यति मात्र हाइन, वैशाख २९ को दोलखा भुइँचालो २० किलोमिटरभन्दा बढी गहिराइबाट उत्पन्न भएको थियो। त्योभन्दा माथि अन्य थुप्रै सानातिना दरार पहिलेदेखि थिए।

यसले दोलखा र सिन्धुपाल्चोकको सतहमुनि भूकम्पीय दरारको जालोजस्तै बनेको छ, अधिकारीले भने, ‘त्यहाँ भुइँचालो शक्ति प्रसारण भइरहन्छ। यही शक्तिले एकअर्कालाई धकेल्दै आपसमा ‘एड्जस्ट’ भएर बस्ने ठाउँ खोज्छ।’

उनले अगाडि भने, ‘शक्ति एड्जस्ट हुने प्रक्रियाले नै यो क्षेत्रमा धेरै भुइँचालो गएका हुन्।’

यसबाहेक अर्को मुख्य कारण काठमाडौंको दक्षिणी सतहभन्दा ११ किलोमिटर तल अड्किएर बसेको भुइँचालोको शक्ति हो।

खानी तथा भूगर्भ विभागले गोरखा भुइँचालोलगत्तै नेपालका विभिन्न ठाउँमा रहेका जिपिएस स्टेसनबाट तथ्यांक निकाल्दा भुइँचालो दरार काठमाडौंको दक्षिणी सतहमुनि अड्किएको देखिएको थियो। अहिले पनि त्यो शक्ति जस्ताको तस्तै छ। त्यो कहिले निष्कासन हुन्छ र भुइँचालोको झट्का कहिले बन्द हुन्छ यसै भन्न सकिन्न।

नेपाली भूगर्भ वैज्ञानिकहरूले यसमा चार सम्भावना देखाउँदै आएका छन्।

पहिलो, अड्किएको शक्ति विस्तारै फुक्दै जानेछ र सानो–सानो कम्पनबाट ‘रिलिज’ हुनेछ। काठमाडौं र वरपर क्षेत्रमा केन्द्रविन्दु बनाएर जाने स–साना भुइँचालाले यहाँ गाँठो परेको चिरा उधार्दै चुरे फेदसम्म पुर्‍याइदिन सक्छ।

यसो भइदिए साना म्याग्निच्यूडका धक्का लामो समय महशुस भइरहनेछ। यही गतिमा शक्ति निख्रिन धेरै वर्ष लाग्न सक्छ, तर कम जोखिमपूर्ण हुन्छ।

दोस्रो, वैशाख १२ को जस्तै अर्को धक्का आएर गाँठो परेको चिरा एकैचोटि चुरे फेदमा पुर्‍याइदिनसक्छ। र, भएभरको शक्ति एकैचोटि ‘रिलिज’ हुनसक्छ।

तेस्रो, यो शक्ति न एकै धक्कामा घिटिक्क बाहिर आउँछ न त लामो समय लगाएर विस्तारै फुक्दै जानेछ। बरू ५०–६० किलोमिटर तलसम्म गुजुल्टिँदै बस्छ र केही समयपछि बाहिर आउँछ।

जमिनको निकै गहिराइसम्म गुजुल्टिएको शक्ति बाहिर आउँदा त्यसले ल्याउने कम्पनको मात्रा कम हुन्छ। २०४५ को भुइँचालो यसैगरी निकै तलबाट आएकाले कम क्षति भएको थियो।

चौथो, अन्य क्षेत्रमा ठूलो भुइँचालो जाँदा त्यही बेला यहाँ जम्मा भएको शक्ति स्वतः बाहिर निस्कन्छ र खतरा टर्छ।

उदाहरणका लागि, नेपालको पश्चिम क्षेत्रमा पाँच सय वर्षदेखि ८ म्याग्निच्यूडभन्दा ठूलो भुइँचालो गएको छैन। त्यहाँ रन्किएर बसेको पिलो निचोरिँदा त्योसँगै काठमाडौंमुनि जम्मा भएको शक्ति बाहिर आउनसक्छ।

यहाँ अर्को प्रश्न पनि उठ्छ– पाँच वर्षपछि आइरहेका धक्कालाई पनि २०७२ कै निरन्तरता वा ‘परकम्पन’ किन भनिएको होला?

भूगर्भविद् सोमनाथ सापकोटा यसलाई तन्केको स्प्रिङसँग तुलना गर्छन्।

‘हामीले स्प्रिङ तन्काएर छाड्दा त्यो एकैचोटि स्थिर हुँदैन। सानो–ठूलो झट्का दिँदै विस्तारै आफ्नो ठाउँमा फर्कन्छ। भुइँचालो पनि त्यस्तै हो,’ उनले भने, ‘यसलाई आफ्नो ठाउँमा फर्कन समय लाग्छ।’

उनका अनुसार, गोरखा भुइँचालोअघि पनि यस क्षेत्रमा सामान्य धक्काहरू आइरहन्थे। अहिलेका यी धक्का जबसम्म २०७२ अघिको अवस्थामा फर्कंदैन, तबसम्म यसलाई परकम्पनकै रूपमा हेरिन्छ।

गोरखादेखि दोलखासम्म आइरहेका धक्का अहिले पनि सामान्यभन्दा लगभग चार गुना बढी भएको भूगर्भविद्हरूको आकलन छ।

यसले देखाउँछ, भुइँचालोको संख्या र शक्ति घट्दै गए पनि धक्का जारी छ। अहिलेको अवस्था हेर्दा परकम्पन आउने क्रम अझै १०–१५ वर्ष जारी रहने भूगर्भविद्हरू बताउँछन्।

हामी भाग्यमानी छौं भने त्यो परकम्पनको असर आजको जस्तो मात्र हुनेछ, जसले हाम्रो निद्रा मात्र बिथोल्छ।

नभए जिन्दगी नै बिथोल्न पनि सक्छ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *