इन्सपेक्टर पोदार र डीएसपी गिरी वर्षकै उत्कृष्ट

विराटनगर / मोरङमा कार्यरत दुई प्रहरी अधिकृतलाई प्रहरी प्रधान कार्यालयले वर्षकै उत्कृष्ट घोषित गर्दै पुरस्कृत गरेको छ । प्रहरी प्रधान कार्यालयले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ विराटनगरका प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) राकेशकुमार पोदार र मोरङको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) दिलिप गिरीलाई उत्कृष्ट घोषित गरेको हो । पोदारलाई ट्राफिक व्यवस्थापन र गिरीलाई व्यवस्थापकतर्फ उत्कृष्ट घोषित गर्दै ६५ औं प्रहरी दिवसका अवसरमा शुक्रबार पुरस्कृत गरिएको छ ।

कुशल व्यवसायिक क्षमता प्रदर्शन गरेर ट्राफिक व्यवस्थापनको क्षेत्रमा उत्कृष्ट काम गरेकोभन्दै प्रहरी प्रधान कार्यालयले पोदारलाई २०७७ सालको उत्कृष्ट ट्राफिक पुरस्कारबाट पुरस्कृत गरेको हो । कोरोना संक्रमणका कारण काठमाडौं जान नसकेपछि प्रदेश १ प्रहरी कार्यालय विराटनगरमा आयोजित समारोहमा प्रदेशका मुख्यमन्त्री शेरधन राईले पोदारलाई पुरस्कार प्रदान गरे ।

विराटनगर प्रदेश १ को राजधानी हो । पोदार प्रमुख भएर आएपछि विराटनगर लगायत मोरङमा ट्राफिक व्यवस्थापन सुधार र ट्राफिक समस्या समाधानका काममा आफै खटिँदै आएका छन् । त्यस्तै कुशल क्षमता प्रदर्शन गरी व्यवस्थापकीय क्षेत्रमा उत्कृष्ट कार्य गरेकोभन्दै प्रहरी प्रधान कार्यालयले डीएसपी गिरीलाई उत्कृष्ट प्रहरी व्यवस्थापक पुरस्कार प्रदान गरेको हो ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *