शेखर, प्रकाशमान र गगनबीच समीकरण !

अमेरिकामा डेमोक्र्याटिक पार्टीको महाधिवेशन केही महिनाअघि सकियो। राष्ट्रपतिको उम्मेदवार हुन १६ जनाले प्रतिस्पर्धा गरेका थिए। लिंग, वर्ण, वर्ग र उमेरको भरपुर विविधता थियो।

मुख्य कुरा, पार्टीभित्र ती १६ जनाका आ-आफ्ना स्थायी गुट थिएनन्। राष्ट्रपति बनेर मुलुकलाई नेतृत्व गर्ने आफ्नै सपनाको तागतमा उनीहरू चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए। अन्तिममा जो बाइडेन डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार चुनिए। उनी अहिले डोनाल्ड ट्रम्पसँग राष्ट्रपतिको प्रतिस्पर्धामा छन्।

हाम्रो मुलुकका दुबै ठूला प्रमुख पार्टी: नेपाल कम्युनिस्ट पार्टी र नेपाली कांग्रेस पनि महाधिवेशनको संघारमा छन्। सत्तारूढ नेकपाभित्र आउने महाधिवेशनमा प्रतिस्पर्धा हुन्छ वा आन्तरिक लोकतन्त्र कुण्ठित गर्दै भागबन्डा र पद बाँडफाँटमा टुंगिन्छ, एकिन छैन। आन्तरिक प्रतिस्पर्धा र लोकतन्त्रका सवालमा नेकपाको एमालेकरण हुन्छ वा माओवादीकरण हुन्छ भन्ने आउने महाधिवेशनले टुंगो गर्नेछ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा भने आगामी महाधिवेशनमा चुनावी प्रतिस्पर्धा पक्काजस्तै छ। सभापति शेरबहादुर देउवा र उनीइतर समूह गरेर आधा दर्जन नेता सभापति पदका आकांक्षी देखिएका छन्। कति गज्जब हुन्थ्यो, कांग्रेसको नेतृत्व लिने चाहना भएका यी नेताले डेमोक्र्याटिक पार्टीको प्राइमरीमा जसरी गुटविहीन प्रतिस्पर्धा गरे।

हाम्रा दुबै मूल पार्टीका नेता भने बारम्बार भन्छन्- यो अमेरिका होइन। अमेरिकाजस्तो खोजेर हुन्छ? जनता जस्ता छन्, हामी नेता त्यस्तै छौं!

यो, नेताहरूले लाज पचाउन भन्ने कुरामात्र हो। खासमा जनताभन्दा नेताले लत्तो छाडेको देश हो नेपाल। कांग्रेस र नेकपाका नेता-कार्यकर्ताको ठूलो पंक्तिसँग संघर्ष, जेलनेल र त्यागको इतिहास छ। केही गर्छु भन्ने चाहना पनि छ। तर चाहनाले मात्र काम फच्चे कहाँ हुन्छ? ढंग चाहिन्छ।

धेरै नेताको ढंग मरू!

दुबै पार्टीका बहुत थोरैमात्र नेतासँग मुलुक हाँक्न सक्ने व्यस्थापकीय क्षमता, लगन, इमान र आत्मविश्वास छ। त्यसैले त कांग्रेस वा नेकपा जो सत्तामा गए पनि परिणाम उही आउने गरेको छ। बहुसंख्यक मन्त्रीले म के गर्दैछु, किन गर्दैछु भन्ने भेउ पाउन्नन्। इमान पनि नभएकाले त सत्तालाई भष्मै बनाएर छाड्छन्।

पार्टीका कैंयन् नेताहरूभन्दा धेरै क्षमता, लगन र कल्पनाशीलता भएको ठूलो तप्का समाजका विभिन्न क्षेत्रमा क्रियाशील छ। आफ्नो ठाउँमा उसले काम गरेको छ, क्षमता देखाएको छ, परिणाम निकालेको छ। त्यो तप्कालाई लाग्न थालेको छ- राजनीतिले समाजलाई पछाडि पार्‍यो। हाम्रो प्रगतिमा राजनीति सहयोगी होइन, बाधक बन्यो। यो असन्तोष पार्टीहरूका लागि खतराको घन्टी हो।

पार्टीका नेता-कार्यकर्ता भने यो मान्न तयार छैनन्। क्षमता नभएका मानिसले प्रायः आफूजस्तै मानिस भेट्छन्। इमान नभएकाले बेइमानकै संगत गर्छ। बेइमानसँग इमान भएको मानिस टाढिन्छ। यसरी भेडा भेडासँग, बाख्रा बाख्रासँग छुट्टिँदै जान्छ।

धेरै नेता-कार्यकर्ताले अक्सर आफूजस्तै मानिस भेट्छन्। उनीहरूको अनुहारमा आफूलाई देख्छन्। आफूमा उनीहरूलाई भेट्छन्।

अनि भन्छन्- समाज जस्तो छ, हामी त्यस्तै छौं!

त्यसैले हाम्रा प्रमुख पार्टीहरूको मूल चरित्र चाँडै सुधारिने छैन। न पार्टीभित्रका गुट र उपगुट नै हराउने छन्।

कांग्रेसको आउने पार्टी महाधिवेशनमा पनि एउटा कुरा पक्का छ- अहिले देखिएका पार्टी सभापतिका छ जना आकांक्षीमध्ये धेरै जना अन्तिमसम्म प्रतिस्पर्धामा रहने छैनन्। महाधिवेशनमा अन्तत: सभापति देउवा र उनीइतर गुटबीच नै प्रतिस्पर्धा हुनेछ।

यो शृंखलाको भाग-१ मा म देउवाइतर समूहको अहिलेको ‘डाइनामिक्स’ केलाउनेछु।

भाग-२ मा देउवा समूहबाट सभापतिको उम्मेदवार उनी आफैं बन्छन् वा विमलेन्द्र निधिलाई छाड्छन् भन्ने लेख्नेछु।

देउवाले छाडेनन् भने निधिले उनलाई सघाउँछन् वा उनी पनि प्रतिस्पर्धामा उत्रिन्छन्, त्योबारे पनि लेख्नेछु।

पहिले, देउवाइतर समूहको कुरा।

यो समूहमा अहिले सभापतिका पाँच जना आकांक्षी छन्- रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, शेखर र शशांक कोइराला।

यीमध्ये आउने चौधौं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्छु भन्ने मन सबैभन्दा पहिले डा. शेखर कोइरालाले बनाएका हुन्। त्यसको तयारी पनि उनैले सुरू गरेका हुन्, पाँच वर्षअघि तेह्रौं महाधिवेशन सकिनेबित्तिकै।

उनलाई दुई कुराले प्रेरित गरेको देखिन्छ।

पहिलो, तेह्रौं महाधिवेशनमा उनले केन्द्रीय सदस्यमध्ये सबभन्दा धेरै भोट ल्याए। त्यसले उनलाई ‘म लोकप्रिय रहेछु, कार्यकर्ताले मलाई रूचाउने रहेछन्’ भन्ने आत्मविश्वास दियो।

दोस्रो, उनले तेह्रौं महाधिवेशनमै महामन्त्री उठ्न खोजेका थिए। भाइ शशांकलाई ठाउँ छोडिदिन मनाउने धेरै प्रयत्न पनि गरे। महामन्त्रीका रूपमा पार्टी चलाउन धेरै मिहेनत गर्नु पर्ने, निरन्तर देशभरि डुल्नु पर्ने, हरदम सक्रिय रहनु पर्ने भएकाले त्यो काम तिम्रो स्वाभाव अनुसार मिल्दैन भनेर शशांकलाई सम्झाए। महामन्त्रीका रूपमा ‘सानोबुवा’ गिरिजाप्रसाद कोइरालाको सक्रियता सम्झाए।

सुरूमा शशांकले चुप लागेर शेखरका कुरा सुने। महाधिवेशन नजिक भएपछि एकदिन उनले भनिदिए- मैले महामन्त्रीमा उठ्ने निधो गरेँ।

शेखर पछि हटे। त्यो बेला निकटहरूसँग चित्त दुखाउँदै उनले भने, ‘म बिपीको छोरा परिनँ। त्याग मैले नै गर्नुपर्‍यो।’

शेखरका मनमा त्यो बेलादेखि नै एउटा कुरा गढेर बसेको देखिन्छ- महामन्त्रीको पाँच वर्षीय कार्यकालमा शशांकको अक्षमता बाहिर आउँछ। त्यसपछि मलाई सजिलो हुनेछ।

शेखरले राजनीति गिरिजाप्रसादबाटै सिकेका हुन्। गिरिजालाई राजनीतिमा सघाउन शेखरकी आमा नोना कोइराला पनि उनीसँगै बस्थिन्। पति केशव कोइरालाको मृत्युपछि नोनाले विराटनगरको कोइराला निवासमै बसेर नेपालको अग्रणी राजनीतिक परिवार सम्हालेकी हुन्। गिरिजाप्रसाद प्रधानमन्त्री बनेर बालुवाटार बस्दा पनि नोना सँगै बसिन्। प्रधानमन्त्री हुँदा वा नहुँदा पनि राजनीतिमा गिरिजाप्रसादको एकनासको सक्रियता शेखरले नजिकबाट देखेका थिए।

तेह्रौं महाधिवेशन सकिएलगत्तै गिरिजाको सक्रियताको पदचाप शेखरले पछ्याए। उनी मधेश, पहाड, हिमालका ७७ वटै जिल्ला घुमे। धेरै ठाउँ दोहोर्‍याएर/तेहर्‍याएर पुगे। पछिल्लो पाँच वर्षमा सायदै कुनै नेता यति धेरै जिल्ला घुमेको छ, यति धेरै कार्यकर्ता भेटेको छ।

सहरमा नेताहरूबीचको मोलाहिजा छाडेर शेखर गाउँ पस्नुको कारण छ। काठमाडौंमा कांग्रेस शीर्ष नेताहरू उनलाई ‘जुनियर’ भन्छन्। उनी सक्रिय राजनीतिमा धेरै पछि आए। विराटनगरमा २०४८ साल देखिनै सानोबुवा गिरिजाको निर्वाचन क्षेत्रमा खटिए पनि उनी प्रत्यक्ष राजनीतिमा होमिएनन्। धरानमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन भएपछि गिरिजाले त्यसको नेतृत्व गर्न शेखरलाई पठाए। उनले उपकुलपतिका रूपमा दुई कार्यकाल नेतृत्व गरे। त्यसपछि गिरिजाप्रसादले एघारौं महाधिवेशनमा आफू तेस्रो पटक सभापति निर्वाचित भएपछि उनलाई २०६२ सालमा केन्द्रीय सदस्य नियुक्त गरे।

अहिले कांग्रेसमा सभापतिका आकांक्षी सबै जना पदका हिसाबले शेखरभन्दा सिनियर छन्। देउवा, पौडेल, निधि, सिटौला, सिंह र शशांक सबैले कांग्रेसको पदाधिकारीका रूपमा काम गरिसकेका छन्। जबकि शेखर केन्द्रीय सदस्यमात्र छन्।

नेपाली कांग्रेसजस्तो ‘हाइयार्की’ मान्ने ‘कन्जर्भेटिभ’ पार्टीमा सभापतिका आकांक्षी अरू नेताले शेखरलाई प्रतिस्पर्धीका रूपमा गम्भीरतापूर्वक लिने कुरै थिएन। त्यसैले सभापतिमा बलियो प्रतिस्पर्धीको हैसियत आर्जन गर्न शेखर तेह्रौं महाधिवेशन सकिनेबित्तिकै जिल्ला घुम्न सुरू गरे। कोरोना संक्रमण सुरू भएका केही महिना पनि उनी जिल्ला दौडमा व्यस्त थिए।

पार्टी महाधिवेशनमा सभापति जिताउने नेताहरूले होइन, जिल्ला-जिल्लाबाट आउने महाधिवेशन प्रतिनिधिले हो भन्ने उनले ठाने। तल कार्यकर्तामाझ आफ्नो स्विकार्यता बढ्यो भने, माथिका नेताले आफूलाई मान्न करै लाग्छ भन्ने रणनीतिमा उनी सक्रिय रहे।

त्यो रणनीतिमा जसरी उनी पाँच वर्ष निरन्तर सक्रिय रहे, त्यसले उनलाई सभापतिको एउटा प्रमुख दाबेदारका रूपमा स्थापित गरेको छ।

शेखरको दाबेदारी बलियो बन्नुमा शंशाक कोइराला पनि कारक बेनेका छन्। अहिले सभापतिको दौडमा भएका कुनै पनि आकांक्षीको जति राजनीतिक सुझबुझ र सक्रियता शशांकमा हुन्थ्यो भने चौधौं महाधिवेशनमा सभापतिको कुर्सीमा कसैले आँखा लगाउन सक्थेन। बा बिपीको ‘लिगेसी’मा उनको आफ्नो क्षमता मिसिँदा सभापति बन्न उनलाई देउवा वा अरू कसैले रोक्न सक्ने थिएन।

तर राष्ट्रिय राजनीतिमा आएका पछिल्ला १५ वर्ष उनले आफ्नो नाकामीमात्र प्रमाणित गरे। उनी तीन पटक सांसद निर्वाचित भइसकेका छन्। पछिल्लो पाँच वर्षदेखि पार्टीको निर्वाचित महामन्त्री छन्। तर उनी ‘कहीँ छैनन्’।

उनको उपस्थिति न संसदमा देखिन्छ, न पार्टीमा। संसदमा हुँदा पनि बिरलै बोल्छन्। जति पटक रोष्ट्रममा उभिएका छन्, पट्यार लाग्दो बोलेका छन्। पार्टीका काममा पनि बिरलै देखिन्छन्। लामो समयसम्म उनी चौधौं महाधिवेशनमा देउवाले आफूलाई छाडिदिने छन् भन्ने विश्वासमा बसे। बिरलै उनीसँग मत बझाए। जब देउवाले यसपालि पनि आफू उठ्ने निधो गरे, बल्ल उनी झस्किए।

शशांकलाई महामन्त्रीमा भोट दिएका नेता-कार्यकर्तामात्र होइन, उनीनिकट रहेर काम गरिरहेका केन्द्रीयस्तरका नेता नै ‘अफ-द-रेकर्ड’ कुराकानीमा शशांकले पार्टी पार लगाउन नसक्ने बताउँछन्।

‘पार्टी नेतृत्व गर्नेमात्र कुरा छैन, आउने राष्ट्रिय निर्वाचनमा शक्तिशाली नेकपासँग प्रतिस्पर्धा गर्नुछ,’ शशांक नजिककै एक नेता भन्छन्, ‘शशांकसँग त्यसका लागि ऊर्जा छैन। राष्ट्रिय मुद्दामा बहस गर्ने जाँगर र क्षमता छैन।’

कांग्रेसमा कोइराला परिवारको लिगेसी मान्ने कार्यकर्ताको ठूलो पंक्ति छ। त्यही पंक्तिले अघिल्लो महाधिवेशनमा शशांकलाई सजिलै महामन्त्रीमा जिताएको हो। अहिले त्यो पंक्तिको स्वाभाविक आकर्षण शेखरतिर ढल्किँदै गएको छ।

पार्टी राजनीतिमा शेखरको एउटा ‘भल्नरएबिलिटी’ (कमजोरी) भने छ। अरू नेताको जस्तो उनीसँग लामो समयदेखिको स्थायी गुट छैन। गुट भनेको उकाली-ओरालीमा नेतालाई साथ दिने नेता-कार्यकर्ताको पंक्ति हो। त्यसैले नेपाली राजनीतिमा नेताहरूले गुट बनाउँछन् अनि गुटले नेता पनि बनाउँछन्। गुटविहीन राजनीति नेपालका सन्दर्भमा कमै राजनीतिज्ञले गरेका छन्।

रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्ण सिटौला र शशांकसँग सानै भए पनि आ-आफ्नो गुट छ। पार्टी या सरकारमा हुँदा उनीहरूका वरिपरि यो गुट निर्माण भएको हो।

शेखर कहिल्यै सरकारमा गएका छैनन्, पार्टीमा पनि मुख्य पदमा पुगेनन्। राष्ट्रिय राजनीतिमा ढिलो आए। यिनै कारणले उनको गुट बनेन। त्यसैले उनी सभापति बन्नै पर्छ भनेर ठूलो कार्यकर्ताको पंक्ति उनीसँग खुल्लमखुल्ला हिँडेको देखिन्न। शेखर सभापति हुने सम्भावना देखिएन भने भोलि उनीसँग कोही पनि नरहन सक्छन्।

उनीप्रतिको अहिलेको आकर्षण नै सम्भावनाको आकर्षण हो। शशांकको अक्षमताले कोइराला परिवारको अर्को सदस्यका लागि जन्मिएको सम्भावना। शेखरले पाँच वर्ष मिहेनत गरेर आफ्नै लागि जन्माएको सम्भावना। सरकारमा कहिल्यै नगएका शेखरको ‘फ्रेस’ नेतृत्वमा कांग्रेसका लागि भोलिको सम्भावना।

यो सम्भावनाले सबभन्दा धेरै क्षमतावान् युवाको पंक्तिलाई तानेको छ। गगन थापा, चन्द्र भण्डारी, प्रदीप पौडेल, धनराज गुरुङ, गुरू घिमिरेहरू र मधेसमा ठूलो पंक्ति शेखरको उम्मेदवारीप्रति आकर्षित छ।

केन्द्रमा शेखरले सहयोगको हात सबभन्दा पहिले बढाएको पनि युवाहरूसँगै हो। उनले गगन थापालाई आफूसँग मिलेर महामन्त्रीमा चुनाव लड्न धेरै अघि प्रस्ताव गरेका हुन्। कांग्रेस विधानमा अहिले सात जना सह-महामन्त्रीको निर्वाचन हुने व्यवस्था छ। त्यसले पनि उनलाई अरू युवासँग हात बढाउन सजिलो भयो। युवाहरूलाई पनि आफ्ना लागि ठाउँ देखेपछि उनीसँग जोडिन सजिलो भयो।

युवाहरू उनीप्रति आकर्षित हुनुको अर्को कारण पनि छ। उनले प्रष्ट भनेका छन्, ‘म एक अवधिका लागिमात्र सभापतिमा लड्ने हो।’

अर्को महाधिवेशनमा गगन थापाको पुस्तालाई कांग्रेसको नेतृत्व छाडेर राजनीतिबाट विश्राम लिने शेखरले प्रष्टै भन्दै आएका छन्। एक युवा नेता भन्छन्, ‘शेखरसँगै पुरानो पुस्ता बिदा हुन्छ भन्ने सम्भावनाले पनि हामीलाई उत्साही बनाएको छ।’

शेखरको यो भनाइ र पन्ध्रौं महाधिवेशनमा गगन थापा सभापति उठ्ने सम्भावनाले कांग्रेस पार्टीभित्र अहिले नयाँ ‘डाइनामिक्स’ निर्माण गरेको छ। अघिल्लो पुस्ताका धेरैले आफू सभापति हुने अन्तिम अवसर यही हो भन्ठानेका छन्।

आगामी महाधिवेशनमा सभापति नबने पन्ध्रौंमा गगनसँग लड्नुपर्छ। कांग्रेसमा पुस्तान्तरणको त्यो माहोलमा गगन वा उनको पुस्तासँग सभापतिमा प्रतिस्पर्धा गर्नु फलामको च्युरा चपाउनु बराबर हुने अघिल्लो पुस्ताका धेरैलाई लाग्न थालेको छ।

यो पनि एउटा कारण हो, सभापति पदका लागि कांग्रेसमा यसपालि यति धेरै आकांक्षी छन्।

रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शशांक कोइराला, कृष्णप्रसाद सिटौला र स्वयं शेखरलाई पनि लागेको छ, सभापति बन्ने यो उनीहरूको अन्तिम अवसर हो।

देउवाइतर समूहमा सभापतिको आकांक्षी यी पाँचमध्ये सबभन्दा कमजोर दाबी सिटौलाको छ। उनी उठ्छन् भन्ने नै धेरैलाई लागेको छैन। अघिल्लो महाधिवेशनमा सभापति उठेका उनको पेटमा अझै प्रतिस्पर्धाको आगो छ भन्ने छनक देखिएको पनि छैन।

‘कांग्रेसको शीर्ष तहमा आफ्नो स्थान कसरी सुरक्षित गर्ने, आफू कसरी सान्दर्भिक बनिरहने भन्ने उहाँको मुख्य चासो हुन सक्छ,’ सिटौलालाई नजिकबाट चिन्ने एक नेता भन्छन्। उनको विश्लेषणमा सिटौला काम गर्ने क्षमता भएका एक चतुर नेता हुन् जसले भोलिको कांग्रेसमा पनि आफ्नो भूमिका खोजेका छन्।

‘अब मेरो समय सकियो भनेर पाखा लाग्ने नेता उनी हैनन्,’ उनी भन्छन्।

कांग्रेस सभापति बन्ने आफ्नो सपना सदाका लागि सकिन लागेकामा ठूलो चिन्ता वरिष्ठ नेता रामचन्द्र पौडेललाई छ। उनी अहिले सभापतिको प्रतिस्पर्धामा भएका शेरबहादुर देउवा लगायत सबै आकांक्षीभन्दा सिनियर हुन्। २०२७ सालमा विपीन कोइरालाको सभापतित्वमा नेविसंघ गठन हुँदा पौडेल कोइरालाका प्रस्तावक थिए। उनी नेविसंघको त्यो कार्यसमितिमा सदस्य पनि भए।*

देउवा भने २०२८ सालमा मात्र नेविसंघका दोस्रो सभापति भएका हुन्। देउवा चार पटक प्रधानमन्त्री भए। नेपाली कांग्रेस र नेपाली कांग्रेस प्रजातान्त्रिकको सभापति पनि भइसके।

पौडेलले लेख्ने रिपोर्ट कार्डमा देउवा उनीभन्दा कुनै हिसाबले अब्बल छैनन्। उनी ठान्छन्- इमान मेरै धेरै छ, कांग्रेसप्रतिको निष्ठा मेरै धेरै। लेखपढ र चिन्तन मेरै धेरै। प्रजातान्त्रिक समाजवादप्रतिको आस्था पनि मेरै धेरै। तर चार पटक प्रधानमन्त्री देउवा, कांग्रेस सभापति देउवा!

नियतिले आफूमाथिको घोर अन्याय गरेको ठान्छन् पौडेल। कांग्रेस सभापति बनेर यो अन्याय हटाउने उनको घिडघिडो छ।

सभापतिका आकांक्षी दोस्रो पुस्ताका नेताहरूको भने फरक निष्कर्ष छ- अब पौडेलको समय सकियो।

यो कुरा उनीहरूले केही समयअघि मुखै खोलेर भने। तीन हप्ताअघि एउटा सानो डिनरमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शेखर कोइराला, गगन थापा, प्रदीप गिरि, गोविन्द पोखरेल, स्वर्णीम वाग्लेलगायत भेला भएका थिए।

डिनरमा सिंह, कोइराला र थापाले मुखै खोलेर पौडेलले यसपालि सभापतिको प्रतिस्पर्धामा आफूलाई उतार्न नहुने सल्लाह दिए। कांग्रेस सभापति हुन लायक भए पनि अब उनको समय घर्किसकेको उनीहरूले बताए। कांग्रेसले चुनाव जिते उनी राष्ट्रपति उम्मेदवार बन्नुपर्ने सुझाए। त्यो सुझावप्रति पौडेलेले खुब चित्त दुखाए।

अन्तिममा उनले भने, ‘तिमीहरू सबै मिलेर सभापतिका लागि एक जनाको नाममा सहमति गर्यौ भने म पनि मानौंला।’

पौडेलको अहिलको सबभन्दा ठूलो आश त्यही हो- दोस्रो पुस्ताका नेताले आफूलाई पन्छाउन खोजे पनि देउवाइतर क्याम्पमा आफूबाहेक अरू कसैको नाममा पनि सहमति हुन सक्दैन।

उनलाई थाहा छ, अहिलेसम्म शेखर, शशांक र प्रकाशमान कोही पनि एक अर्कालाई छोड्न तयार छैनन्। यी तीनबीच कुरा मिलेन भने अन्तिममा मलाई नै छोड्न तयार हुन्छन् भन्ने पौडेलको आशा छ। तर त्यो सम्भावना क्षीण हुँदै गएको छ। त्यसको एउटा कारण शेखर र प्रकाशमानबीच बढ्दो संवाद र दुबैबीच समीकरणको सम्भावना हो।

शेखरले प्रकाशमानलाई भेटेर प्रष्ट भाषामा दुबै मिलेर अघि बढ्न प्रस्ताव गरेका छन्। उनले भनेका छन्, ‘कांग्रेसमा बिपीकै पालादेखिको एउटा मूल समस्या भनेको पार्टी सभापति र प्रधानमन्त्री एकै व्यक्ति हुनु हो। त्यो समस्याको हल हामीले निकाल्नुपर्छ।’

पार्टी सभापति र प्रधानमन्त्री दुई पदमा आफूहरू दुई जना मिलेर लड्नुपर्ने प्रस्ताव शेखरले प्रकाशमानसँग राखेका छन्। प्रकाशमानले पनि त्यसमा सहमति जनाएका छन्। दुईबीचको सहमतिमा एउटा कुरा भने खुलेको छैन- को सभापतिको उम्मेदवार र पार्टीले जितेमा को प्रधानमन्त्री हुने?

आफूनिकट युवा र अरूलाई पनि शेखरले भनेका छन्, ‘मलाई प्रधानमन्त्री बन्न कुनै लोभ छैन।’

प्रकाशमानले शेखरसँग खुलेर नभने पनि उनको प्राथमिकता पनि पार्टी सभापति हो। त्यसै पनि प्रधानमन्त्री बन्न त पार्टीले आमनिर्वाचन जित्नुपर्‍यो। नत्र संसदीय दलको नेतामा सीमित हुनुपर्छ।

आफू सुशील कोइरालाको कार्यकालमा महामन्त्री भइसकेको र कांग्रेसमा शेखरले भन्दा लामो समय काम गरेकाले आफू सभापति उम्मेदवार हुनु पर्ने प्रकाशमानको दाबी छ। बिपी र गणेशमानका दुःखले बनेको कांग्रेसमा कोइराला परिवारबाट पटक-पटक सभापति भइसकेकाले आफू यसपटक सभापति बन्नु पर्ने जिकिर पनि उनको छ।

‘प्रकाशमानको दाबी नाजायज छैन। तर सभापति जित्न उनलाई भन्दा शेखरलाई सजिलो छ,’ दुबै मिल्नुपर्ने पक्षका एक नेता भन्छन्, ‘पार्टीले चुनाव जित्यो र उहाँ कुनै दिन प्रधानमन्त्री बन्नुभयो भने गणेशमानले छाड्नुभएको त्यो पदमाथि पनि न्याय हुनेछ।’

प्रकाशमानले शेखरलाई ‘म सभापति लड्छु, पार्टीले चुनाव जिते तपाईं प्रधानमन्त्री बन्नुस्’ भन्ने प्रस्ताव गरे के हुन्छ?

शेखरनजिक एक नेता भन्छन्, ‘प्रकाशमानले अहिलेसम्म त्यसो भन्नुभएको छैन, भोलि पनि भन्नुहुन्न। उहाँलाई शेखरको प्रस्तावको अन्तर्य के हो भन्ने थाहा छ। सही निर्णय के हुन्छ भन्ने पनि थाहा छ।’

शेखर र प्रकाशमानलाई जोड्न धेरै युवा र अरू नेताको पनि प्रयत्न जारी छ। प्रकाशमानलाई संसदीय दलको नेता र प्रधानमन्त्री उम्मेदवार बन्न धेरैले सुझाइरहेका छन्। उनले अहिलेसम्म सहमति जनाइसकेका छैनन्। दुई जनालाई एक ठाउँ ल्याउन सकियो भने ढिलोचाँडो देउवाइतर सबै नेता एक ठाउँ उभिन कर लाग्छ भन्ने युवा नेताहरूको ठम्याइ छ।

त्यसलाई शशांकले पनि सहजै स्विकारे र सघाए भने शेखर सभापतिको धेरै नै बलियो प्रतिस्पर्धी बन्नेछन्। तर शशांकले के गर्छन्, टुंगो छैन।

पछिल्ला दिनमा शेखर र शशांकबीच दूरी बढ्दै गएको छ। शशांकको कमजोर नेतृत्वकै कारण कांग्रेसमा शेखरको सम्भावना बढेको हो। तर सभापतिमा आफ्नो दाबी कमजोर हुनुमा शशांक शेखरको हात देख्छन्। ‘शशांकले पार्टी हाँक्न सक्दैनन् भन्ने’ सन्देश देशभर पुर्‍याउने काम दाइ शेखरले नै गरेको उनको ठम्याइ छ। त्यसले शशांकलाई क्षुब्ध बनाएको छ।

शशांकले आफूनिकटसँग सभापतिमा अरूलाई छाडे पनि शेखरलाई छाड्दिनँ भनेका केही नेता बताउँछन्। त्यस्तै शेखर र प्रकाशमानबीच सहमति भए शशांकले रामचन्द्र पौडेललाई समर्थन गर्ने सम्भावना रहेको पनि कतिले आशंका गरेका छन्। शशांक र शेखर दुवैले महाधिवेशनमा पहिलो राउन्डमा सभापतिमा प्रतिस्पर्धा गर्ने सम्भावना प्रवल रहेको तर्क गर्ने पनि छन्।

तर महाधिवेशनको मुखमा पुगेपछि शेखर र शशांकको व्यक्तिगत चाहनामात्र महत्वपूर्ण हुन्न। उनीहरूमध्ये कसको पक्षमा अरू सिनियर नेता उभिन्छन्, प्रभावशाली युवा कसको पक्षमा लाग्छन् भन्नेले पनि को बलियो भन्ने प्रष्टै देखिनेछ।

दाजुभाइबीच झगडा नबढोस् र अन्तिममा उनीहरूबीच सहमति बनोस् भन्ने चाहना दुवै निकट कतिपय नेतामा पनि देखिन्छ। किनकी दाजुभाइको झगडा वा मेलमिलापले ती नेताहरूको राजनीतिक भविष्य पनि निर्धारण गर्छ।

‘शेखर, प्रकाशमान र गगनबीच समीकरणको सम्भावना जसरी बलियो बन्दै गएको छ, देउवाइतर समूहको उम्मेदवारीमा त्यो नै निर्णायक हुने देख्दैछु म,’ यो समीकरणलाई नजिकबाट हेरेका एक नेता भन्छन्, ‘त्यसले शशांकलाई पनि अन्तत: तान्नेछ।’

*सच्याइएको

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *